रेडियो र टेलिभिजनबाट असार १ गतेदेखि पढाइ सुरु हुने

कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ ।सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्प मानिएको छ तर प्रत्यक्ष कक्षामा पढ्ने आदत र परीक्षामुखी प्रणालीको अभ्यासमा यो विकल्प स्थापित गर्न तत्काल सहज हुन भने गाह्रो रहेको विज्ञहरुको भनाइ छ ।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण हुन थालेका छन् ।

यद्यपि काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ ।

गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगन छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय समिति गठन गरी वैकल्पिक विधिको अनलाइन या दूरशिक्षाबारे अल्पकालीन र दीर्घकालीन सुझाव तयार गराई महामारीको यस अवस्थालाई शिक्षाको सूचना प्रविधिको फड्को मार्ने अवसर र चुनौतीका व्याख्या गर्दै आउका छन् ।

उक्त निर्देशिकामा रेडियो, एफ रेडियो, टेलिभिजन, अनलाइन, स्वअध्ययन तथा अफलाइनका माध्यमबाट सिकाउन सकिने उल्लेख छ ।

निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहहरुमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरिएको जानकारी दिए ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षणअनुसार मुलुकभर सञ्चालित ३५ हजार ५२० विद्यालयमध्ये २९ हजार ६०७ सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयमध्ये आठ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालयमध्ये तीन हजार ६७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन् ।

विद्यालयमा भएको कम्प्युटर प्र्रयोगशला बन्दाबन्दीमा घरमा रहेका विद्यार्थीले उपयोग गर्न नपाए पनि विद्यालयको प्रशासन सञ्चालन हुँदा शिक्षकलाई सहज हुनेछ ।

चालू आवमा थप एक हजार माध्यमिक विद्यालयमा सूचना प्रविधिको प्रयोगशाला स्थापनाको लक्ष्य राखिएको थियो ।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः  कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन् ।

कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ ।

             रासस

 

Comments

Related News

Image

कोभिड-१९: थाहानगरका यस्तो सतर्कता !

कोरोना भाइरस (कोभिट–१९) संक्रमण भित्रन र फैलन नदिन यसको नियन्त्रण तथा रोकथाम व्यवस्था मिलाउन थाहा नगरपालिकाले विशेष निर्देशन जारी गरेको....

Image

बागमती प्रदेशमा ८५५२ जनाको पीसीआर जाँच

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश....

Image

चित्लाङमा ४३ अर्बकाे लागतमा मदन भण्डारी विश्वविद्यालय निर्माण थालनी

मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको लागि औपचारिक थालनी गरिएको छ । विश्वविद्यालयका परामर्शदाताहरुको....

PALUNG WEATHER